विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन (एमसीसी) नेपालको भ्रमणमा छ । काठमाडौं शनिबार आइपुगेको टिमले आइतबार नेपालको यू-१९ क्रिकेट टिमसँग एक दिवसीय प्रतियोगिता खेलिरहेको छ ।
नेपालको यू १९ टिम भारतमा हुने च्यालेन्जर्स ट्रफीको तयारीमा छ । ऋत गौतमको कप्तानीमा रहेको नेपाली यू-१९ टिमले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । टस हारेर पहिला ब्याटिङमा उत्रिएको एमसीसीले त्रिवि क्रिकेट मैदानमा नेपाल यू १९ टिमलाई ३ सय ३५ रनको लक्ष्य दिएको छ । निर्धारित ओभरमा एमसीसीले ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको हो ।
नेपाल यू-१९ विरुद्ध सानदार सुरुवात गरेको एमसीसीले १५ ओभरमा सय रन पार गरेको थियो । एमसीसीको रन गतिमा नेपालका सागर ढकालले ब्रेक लगाएका थिए । सागरले २२ रन बनाएर खेलिरहेका विली गोल्डमेनलाई २२ रनमा आउट गर्दै पेभेलियन पठाए । त्यसपछि क्रिजमा रहेका विल रोड्स र टम वेस्लेले पारि अघि बढाएका थिए ।
विल रोड्सलाई शेर मल्लले आउट गरेका थिए । विल रोड्स ९३ रन बनाएर आउट भएका हुन् । लगत्तै तेस्रो सफलता पनि नेपालले प्राप्त गर्न सफल भयो । शेर मल्लले जिमी एडम्सलाई पहिलो बलमा खातै नखोली पेभेलियनको बाटो देखाए । सागर ढकालले ३७औं ओभरको खेलमा सागर ढकालले विल भान्डरस्पारलाई २४ रनमा आउट गरे ।
छैटौं विकेटका रुपमा आकाश चन्दले माइल्स ह्यामोन्डलाई ५३ रनमा आउट गरे । सातौं विकेटका रुपमा विकेटकिपर हरिबहादुर चौहानले क्यालम ज्याक्सनलाई आउट गरे । डाइरेक्ट हिटमा आउट भएका ज्याक्सनले २ रन मात्रै बनाउन सके । उनी आउट हुँदा एमसीसीले ३ सय रन पार गरेको थियो ।
एमसीसीका एडवार्ड जर्स क्रिस्टोफर योङ ४५ तथा यासिर आराफात ४ रनमा नट आउट रहे । नेपालका सागर ढकाल र शेर मल्लले २-२ विकेट लिँदा कुशल मल्ल र आकाश चन्दले एक–एक विकेट लिएका छन् । ३ सय ३५ रनको लक्ष्यसहित नेपाल यू-१९ टिमले जवाफी ब्याटिङ गरिरहेको छ ।