नेपालका लेगस्पिनर सन्दीप लामिछाने १ वर्षको अवधिमा धेरै देशमा गएर टी-२० क्रिकेट खेल्ने पहिलो खेलाडी बनेका छन् ।
सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा ‘द क्रिकेट मन्थ्ली’ नामक अन्तर्राष्ट्रिय म्यागजिनले गरेको सर्वेक्षण गर्दा सन्दीपले टी-२० तर्फ सर्वाधिक देशमा गएर क्रिकेट खेल्ने रेकर्ड बनाएका हुन् । सन्दीपले यो अवधिमा ८ देशमा गएर टी २० खेलेका छन् । उनीसँगै ८ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिबुल्लाह जर्दानको नाम पनि छ ।
सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पीएसएल खेलेका छन् । योबीच उनले नेपालका लागि ३ वटा एक दिवसीय र ११ टी-२० पनि खेल्न भ्याएका छन् ।
सन्दीपको माग विश्वका हरेकजसो ठूलो फ्रेन्चाइज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् । सन्दीप १ वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका रासिद खान छन् । उनले १ वर्षमा १ हजार ३ सय ५५ बल बलिङ गर्दा सन्दीपले ९ सय ८५ बल बलिङ गर्दै दोस्रो स्थानमा राखेका हुन् ।