नेपाल क्रिकेट संघ क्यानकाे पहिलाे कार्यसमितिको बैठक आज बस्दैछ।
संघको कार्यालय मूलपानीमा बस्न लागेको बोर्ड बैठक दिउसो १२ बजेबाट सुरु हुने बताइएको छ। आइसीसीले असोज २६ गते क्यानको निलम्बन ससर्त फुकुवा गरेकाे जनाएपछि पहिलो पटक बस्न लागेकाे बोर्ड बैठकलाई निकै चासाेका साथ हेरिएकाे छ।
बैठकमा कप्तान पारस खड्काको राजिनामाका साथै अब चाँडो भन्दा चाँडो कसरी क्यानको निलम्बन फुकुवा गर्ने विषयमा छलफल हुने क्यानका एक पदाधिकारीले जानकारी दिए।
जिल्ला प्रदेश र केन्द्रको प्रशासनिक संरचना कसरी बनाउने भन्ने विषयमा पनि सामान्य छलफल हुने तर ठाेस निर्णय भने नहुने ती अधिकारीकाे भनाई छ। नयाँ कार्यसमिती आएपछि प्रदेश, केन्द्रको प्रशासन चलाउनका लागि तीन वटा मुख्य पोष्टमा ब्यक्ति चयन गर्नु पर्ने छ। गत असाेज ११ गते सम्पन्न क्यानकाे चुनावी शाधारण सभाले चतुरबहादुर चन्दकाे नेतृत्वमा कार्यसमिति निर्वाचित गरेकाे थियाे। आईसीसीकाे निलम्बनका कारण निर्वाचित भएर पनि बैठक बस्न सकेकाे थिएन।