फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल जाेर्डनसँग ३-० ले पराजित भएकाे छ। जोर्डनको अम्मान रंगशालामा पहिलो हाफमा नेपालले उत्कृष्ट खेल्दै जोर्डनलाई बराबरीमा रोक्न सफल भएको थियाे। बल पोसेसनमा माथि रहेको जोर्डनले सुरुवातमा नै चार वटा सुन्दर मौका पाएपनि गोल गर्न सकेन।
फिफा बरियतामा नेपाल भन्दा निकै माथि रहेको जोर्डनका अधिकांश प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए। अष्ट्रेलिया विरुद्धको खेलमा तीन जना खेलाडी परिवर्तन गरेको नेपाल सुरुवातदेखि नै डिफेन्सिभ देखिएको थियो। जसमा नेपाल पहिलो हाफमा सफल पनि भएको हो।
पहिलो हाफको अन्तिममा जोर्डनले नेपालको पोष्टमा झन आक्रमण गरेपनि किरण चेम्जोङले निकै राम्रो बचाउ गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुवातमा नै जोर्डनले चार वटा प्रहार गरेको थियो। जसमा यासीनले दुई वटा मौका गुमाए भने एकपटक फैसलको प्रहार बाहिरीयो।
५५ औं मिनेटमा नेपालका दिनेश राजवंशीले फल गरेपछि जोर्डनले पेनाल्टी पायो। जसलाई फेरहास जायदले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए।
७५ औं मिनेटमा अञ्ज विष्टले डिबक्स बाहिरबाट गरेको प्रहारलाई जोर्डनका गोलकिपर अमिर साफीले बचाए।
७८ औं मिनेटमा जोर्डनले अन्तर दुई शुन्यमा पुर्यायाे। उसका लागि अहमेद अल इर्सानले गोल गर्न सफल भए। उनले लेफ्ट साइडबाट गरेको प्रहारलाई किरण चेम्जोङले बचाउन सकेनन्।
दुई गोलको अग्रता बनाएको जोर्डनले त्यसपछि पनि आफ्ना आक्रमणलाई कायमै राख्यो। ८७ औं मिनेटमा नेपालले तेस्रो गोल खायो। नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै फैसलले हेड मार्फत गोल गरे।
जितसँगै जाेर्डनले तीन खेलमा सात अङ्क बनाएकाे छ। उसले तीनमा २ जित र एक बराबरी खेलेकाे छ। नेपालकाे चार खेलमा ३ अङ्क छ। नेपालले चार खेलमा तीन हार र एक जित निकालेकाे छ। अब नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ।