नेपाली क्रिकेटर पारस खड्काले झन्डै दशकयता सम्हाल्दै आएको राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् ।
उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टिमको कप्तानी छाडेको घोषणा गरेका हुन् । उनकै कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पाएको थियो ।
उनले आफूलाई साथ दिने सम्पूर्ण खेलाडी, कोच, अम्पायर, ग्राउन्ड म्यान तथा शुभचिन्तक र परिवारलाई धन्यवाद दिँदै नयाँ सुरुवातका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।
पारसले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेका छन् :
'नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुसी छु र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रो गरोस् भन्ने कामना गर्छु । मैले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु । नयाँ सुरुवात नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस् भन्ने चाहन्छु । यो अविश्वसनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा मेरा परिवार लागि धन्यवाद व्यक्त गर्छु । जय नेपाल।'