भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष बन्ने भएका छन्। आज सोमबार बीसीसीआईका विभिन्न पदका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन भएकाले उनी मुम्बई पुगेका छन्। यसअघि अध्यक्षका लागि ब्रिजेश पटेलको नाम पनि चर्चामा आए पनि गांगुलीकै नाममा सहमति बनेको हो।
४७ वर्षीय सौरभ हाल क्रिकेट एशोसियसन अफ बंगालका अध्यक्ष हुन्। बीसीसीआईमा नियुक्त भएमा उनी सन् २०२० को सेप्टेम्बरसम्म उक्त पदमा रहनेछन्। बीसीसीआईका अर्का दावेदार पटेललाई भने आइपीएलको नयाँ अध्यक्ष बनाउन सक्ने सम्भावना रहेको जनाइएको छ।
बीसीसीआईको सचिव जय शाह बन्ने भएका छन्। उनी केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा हुन्। यस्तै, अरुण धूमल कोषाध्यक्ष बन्ने भएका छन्। लामो छलफलपछि बीसीसीआईका सबै पदमा निर्विरोध हुने सम्भावना रहेको जनाइएको छ।