नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा उपाधि नजिक पुगेका छन्। प्रिन्सले उपाधिका लागि प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नानको सामना गर्ने भएका छन्।
सेमिफाईनलमा दुवई ईन्टरनेशनलका विजेता प्रिन्सले प्रतियोगितामा चौथो बरियता प्राप्त श्रीलङकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन्।
पुरुष एकलमै नेपाली खेलाडी प्रफुल महर्जन भने प्रतियोगिताका तेश्रो बरियताका भारतका सराथ दुन्नानसंग क्वाटरफाईनलमा १८–२१, २१–१४ र २०–२२ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुन पुगेका थिए।
महिला एकल तर्फ भने नेपाली खेलाडीहरु पहिलो चरणबाटनै प्रतिस्पर्धाबाट बाहिरिएका थिए। पुरुष युगला तर्फ प्रिन्स र प्रफुलको जोडी पाकिस्तानी खेलाडीहरु संग क्वाटरफाईनलमा पराजित भएका थिए। यसैगरि महिला युगलमा रशिला महर्जन र जेशिका गुरुङ्गको जोडी भारतिय खेलाडी दीपसिखा सिंह र मानषी सिंहको जोडी संग क्वाटरफाईनल पराजित भएका थिए।
मिश्रीत जोडी तर्फ रशिला महर्जन र प्रफुल महर्जनको जोडी भारतका सराथ दुन्ना र दीपसिखा सिंहको जोडी संग सेमिफाईनलमा १३–२१, १५–२१ ले तथा प्रिन्स दाहाल र जेशिका गुरुङ्गको जोडी भारतकै साई चरण कोया र मानषी सिंहको जोडी संग सेमिफाईनलमै २०–२२, १७–२१ ले पराजित भए। यसका साथै नेपाली टोलीले तीन कास्य प्राप्त गर्न सफल भएको छ।
नेपाली टोलीले मिक्स टिम ईभेन्ट्समा पनि एक कास्य पाएको थियो। नेपाल भारत संग सेमिफाईनलमा २–३ को सेटमा पराजित हुँदै कास्यमा खुम्चिएको थियो। नेपाली टोलीमा पुरुष तर्फ प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश महर्जन तथा महिला तर्फ रशिला महर्जन, जेशिका गुरुङ्ग र सिमा राजबंशी रहेका छन्। टिम ब्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाह र प्रशिक्षकमा किरण थापा रहेका छन्।