ओमानमा जारी ५ राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि ४ विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको हो । टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई १३३ रनमा समेटेको थियो । सेन स्नाटरको बलमा निरन्तर बाउन्ड्री प्रहार गरेका केसीले नेपाललाई जिताएका हुन् । नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ बल बाँकी छँदै पूरा गर्यो ।
नेपाली टिमका लागि कप्तान पारस खड्काले ४१ बलबाट सर्वाधिक ३३ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले २२ बलबाट २६ रन बनाए । करन केसीले १४ बलमा बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३१ रन जोडे ।
नेदरल्यान्ड्सका लागि रोयलफ मेर्वेले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक २ विकेट लिए । यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रन बनाएका थिए भने नेपाली बलरले कसिलो बलिङ गरेका थिए ।
नेपालका लागि करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट, सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट तथा ललितनारायण राजवंशीले १ विकेटको योगदान पुर्याए ।
नेदरल्यान्ड्सले १३ ओभर सकिँदा ९७ रन जोड पनि त्यसयता नेपाली बलरले उत्कृष्ट कमब्याक गराएका थिए । नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्सले आयरल्यान्डसँग पराजय बेहोरेको थियो ।