भुटानलाई ४–० ले पराजित गर्दै बंगलादेश काठमाडौंमा जारी साफ यू–१८ फुटबल च्याम्पियनिसपमा फाइनलमा पुगेको छ । गत संस्करणको उप विजेता बंगलादेशले भुटानलाई पराजित गरि दोस्रो पटक फाइनलमा पुगेको हो।
समूह चरणमा समान गोल अन्तरले भएपछि भारतसँग गोला प्रथामा उप विजेता भएको बंगलादेशले समूह ए को विजेता भुटानमाथि जीत दर्ता गर्न सफल भयो । तीन गोल पहिलो हाफमा गरेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको थियो ।
हलचोकस्थित एपीएफ मैदानमा बंगलादेशले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता बनाएको थियो । कप्तान यासिन आराफातले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा मोहम्मद अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई दुई शून्यको अग्रता दिलाए । भुटानमाथि सुरुदेखि नै दबाव बनाएको बंगलादेशले ३२ औं मिनेटमा मोहम्मद मराजले तेस्रो गोल थपेका थिए ।
दोस्रो हाफमा खेल सकिन केही मिनेट बाँकी रहेका बेला बंगलादेशका दिपकले डि बक्स बाहिरबाट गोल गर्दै ४–० को फराकिलो जीत दिलाए ।
आजै अर्को सेमिफाइनलमा भारत र माल्दिभ्स भिड्दैछन् । उक्त खेलको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।