नेपालमा जारी साफ यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन्।
हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा हुने पहिलो सेमिफाइनलमा भुटान र बंगलादेश तथा दोस्रो सेमिफाइनलमा भारत र माल्दिभ्स भिड्ने छन्।
भुटान र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल विहान ११ बजे सुरु हुनेछ। पहिलो पटक सेमिफाइनल पुगेको भुटान समूह 'ए' को विजेता बनेको थियो। यता, फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टिम बंगलादेश यो संस्करणमा उपाधि जित्ने लक्ष्य बनाएको थियो।
त्यसैले भुटानलाई हराएर बंगलादेश फाइनल पुग्दै उपाधि जित्ने सपना साकार बनाउन चाहन्छ। गोलाप्रथामा अभागी साबित हुँदै समूह 'बी' को उपविजेता बनेको बंगलादेश प्रतियोगिताकै बलियो टिम समेत हो।
यस्तै भारत र माल्दिभ्सबीचको दोस्रो सेमिफाइनल दिउँसो ३ बजे सुरु हुनेछ। पहिलो संस्करणमा उपाधि जित्नबाट बन्चित भारत पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ। पहिलोपटक सेमिफाइनल पुगेको माल्दिभ्स भारतलाई हराएर पहिलोपटक फाइनल पुग्न चाहन्छ। लगातार दुई संस्करणकाे उपाधि विजेता नेपाल यस संस्करणमा भने समूह चरणबाटै आउट भएकाे थियाे।
पहिलाे खेलमा माल्दिभ्ससँग एक एक गाेलकाे बराबरी खेलेकाे नेपालले दाेस्राे खेलमा भुटानसँग ३-० गाेल अन्तरले पराजित भएपछि उपाधिमाथि ह्याट्रिक गर्ने अभियानमा पूर्ण विराम लागेकाे थियाे।