१३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिले प्रतियोगीताको तयारीलाई तीव्रता दिन उपसमितिलाई पूर्णता दिएको छ ।
भदौ २६ गतेको मन्त्रिपरिषद बैठकले साग कार्यविधि पारित गरेपछि बिहीबार सिंहदरबारमा बसेको तयारी समितिको बैठकले कार्यविधिमा उल्लेख भएअनुसारका उपसमितिमा संयोजकसहित सदस्यहरुलाई पूर्णता दिएको हो । साग तयारी समितिको बैठक बैशाख २६ गतेयता बस्न सकेको थिएन । सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ११ सदस्यीय निर्देशन समिति, खेलकुद मन्त्रीको संयोजकत्वमा २५ सदस्यीय तयारी समिति र सदस्यसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति यसअघि नै निर्माण भइसकेको छ । तयारी समिति अन्तर्गतका १५ उपसमितिले बिहीबार पूर्णता पाएसँगै सागको तयारीले पनि तीव्रता लिने अपेक्षा गरिएको छ ।
सागका लागि ६६ दिनको समय बाँकी रहँदासम्म पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारी कुनैले पनि पूर्णता पाउन सकेको छैन ।तयारी समितिले २७ खेलमध्ये कुस्तीको प्रतियोगिता धनुषाको जनकपुरमा गर्ने निर्णय गरेको छ ।
यसअघि ललितपुरमा आयोजना गर्ने गरी तयारी भए पनि तराईको लोकप्रिय खेल भएकाले कुस्तीलाई २ नम्बर प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको हो । त्यस्तै महिला क्रिकेटका खेल पोखरा रंगशालामा गर्ने गरी तयारी समितिमा निर्णय भएको छ । यसअघि पुरुष र महिला क्रिकेटका दुवै प्रतियोगिता काठमाडौंमै गर्ने तय भएको थियो ।
सागअन्तर्गत काठमाडौंमा ११, पोखरामा ९, ललितपुरमा ९ र धनुषामा १ खेलको इभेन्ट आयोजना हुने भएका छन् । सागमा २७ खेल समावेश भए पनि फुटबल र क्रिकेटको महिला पुरुष तथा बीच भलिबल र थ्री बाई थ्री बास्केटबलसहित ३१ इभेन्ट सन्चालन हुनेछन् ।