प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगितामा २०७६ मा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई आज यहाँ आयोजित समारोहमा एक लाख नगद र शिल्ड प्रदान गरे । वैरेनीदेखि चरौँदीसम्म कूल ४३.७ किलोमिटर क्षेत्रमा सञ्चालन भएको उक्त प्रतियोगितामा ६.७ किमी दौड, २६ किमी साइकल र ११ किमी र्याफ्टिङ कायम गरिएको थियो । नेपाल भ्रमण २०२० लाई सफल तुलाउन सघाउ पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगीता दुई घण्टा २० मिनेटमा दूरी पार गरेर त्रिभुवन आर्मी क्लब पहिलो भएको हो ।
प्रतियोगितामा दोस्रो र तेस्रो हुने भारतीय सेनाको ‘ए’ र ‘बी’ टोलीलाई क्रमश : एक लाख र ७५ हजार तथा प्रमणपत्र प्रदान गरियो । सिमसिमे पानी परेर हिलाम्य उकालो र ओरालो बाटो दौडेर पार गरेपछि साइकल चलाएर दौडिएका कैयाैं प्रतियोगीले २६ किलोमिटर चिप्लो र हिलो सडक पार गर्न हम्मेहम्मे परेको थियो । साइकल यात्रा पूरा गरेसँगै त्रिशूलीको उर्लंदो भेलमा ११ किलोमिटर र्याफ्टिङ चलाएर प्रतियोगी चरौँदी पुगेका थिए । झमझम पानी परेको र वरिपरिको डाँडाकाँडा र हरियालीका बीचमा रहेको त्रिशूलीमा हतारहतारमा र्याफ्टिङ चलाउन पाएपछि दौड र साइकलका बेला झेल्नु परेको सबै दुःख बिर्सिएर निकै आनन्दको महसुस गरिएको महिला प्रतियोगी जमुना थापाले बताए ।
प्रतियोगितामा महिलाको तीन टोलीले प्रतिस्पर्धा गरेकामा सफल महिलाको राष्ट्रिय ट्राइथलन टोलीलाई ५० हजार नगद प्रदान गरियो । महिलातर्फ दोस्रो हुने प्याडल्स नेपाल टोली ‘पी’ लाई ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो । पाँच विदेशीसहित प्रतियोगितामा १५ टोलीले प्रतिस्पर्धा गरेका थिए । भारतीय सेनाका दुई र बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सका एक–एक टोलीले प्रतियोगीतामा भाग लिएका थिए ।