नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनको नयाँ मिति तोकिएको छ । यसअघि असोज ३ र ४ गते हुने भनिएको क्यान निर्वाचनको नयाँ मिति असोज १० र ११ गतेलाई तय गरिएको छ ।
आईसीसीबाट नेपाल आएका इमरान ख्वाजा र अमर शेखसँगको छलफलपछि निर्वाचन काठमाडौंमा गर्ने निर्णय गरिएको हो ।
आईसीसीका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल र स्वतन्त्र समिति पदाधिकारीबीच सोमबार भएको छलफलपछि नयाँ मिति तय गरिएको हो । यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ का लागि चुनावको मिति तय गरेको थियो ।
पछिल्लो समय राखेपले निलम्बन फुकुवाको सर्तका रुपमा रहेको क्यान चुनावमा अड्चन थापेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), आईसीसीले गठन गरेको स्वतन्त्र कमिटी र खेलकुद परिषदबीच सोमबार भएको बैठकले विशेषगरी ४ विषयमा छलफल भएको राखेप सदस्यसचिव सिलवालले बताए ।
बैठकमा छलफल भएका विषय र सहमति यस्ता :
१) क्यानको निर्वाचन असोज १० र ११ गते हुने ।
२) क्यानको निर्वाचन स्वतन्त्र निस्पक्ष र धाँधलीरहित बनाउने ।
३) अक्टोबर १२ र १३ मा बस्ने आइसिसीको बैठकमा नेपालको प्रतिबन्ध फुकुवाका लागि कुरा उठाउने । सदस्यसचिव सिलवालका अनुसार नेपालमाथिको प्रतिबन्ध फुकुवा गर्न आईसीसी सकारात्मक देखिएको ।
४) नेपाली क्रिकेटको भौतिक तथा व्यावसायिक सुधार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुर्नामेन्टबारे छलफल । त्यस्तै नेपाली अम्पायर, अफिसियललगायतलाई ट्रेनिङ र वर्कसपका माध्यमबाट अपडेट गराउने ।
यसअघि क्यान चुनावका लागि आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीले असोज ३ र ४ गते गर्ने निर्णय गरेको थियो । तर, राखेपले आफूसँग अनुमति नलिई गरेको चुनाव मान्य नहुने बताएको थियो । आजको बैठकका लागि आईसीसीका प्रतिनिधिहरु इमरान ख्वाजा र उमर सेख नेपाल आएका थिए । योसँगै निलम्बन फुकुवाको नजिक क्यान पुगेको छ । असोज १० र ११ मा चुनाव सम्पन्न भए क्यान निलम्बन फुकुवाको बाटो भने खुल्नेछ ।