मानिसको लोभ नि जति भए पनि नपुग्ने । यस्तै लोभ गर्ने राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको सपना पनि चकनाचुर बनेको छ । दोहोरिएर राखेपको सदस्यसचिवका लागि लबिङ गरे पनि कतैबाट पार लाग्न सकेन ।
केही समय यत्तिकै थन्किएर बसेका विष्टलाई आज भएको ओलम्पिक कमिटीको चुनावबाट गज्जबकै झट्का लागेको छ । पदको लोभीपापी विष्टले नेपाल ओलम्पिक कमिटीको सचिव पदमा पनि र्याल चुहाएका थिए । उनको यो आशा तुसारापात बनेको छ । उनी मज्जैले सचिव पदबाट चिप्लिएका छन् । यानि कमिटीमा आवश्यक ३ सचिव पदमा विजयी हुन सकेनन् ।
सचिव पदमा हारेपछि अहिले विष्ट इन्तु न चिन्तु बनेका छन् । सचिव पदमा विष्टले सबैभन्दा कम मत पाए अर्थात् उनको पक्षमा १७ मत मात्र पर्यो । मतमा उनी सबैभन्दा पुछारमा परे । उसो त कमिटीको ३ सचिवमा पदका लागि भएको चुनावमा दीपकहर्ष वज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठले बाजी मारे । अर्थात् सचिवमा वज्राचार्य, थापा र श्रेष्ठ सिकन्दर कहलिए ।
यस्तै कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठले बाजी मारेका छन् । महासचिवमा भने नीलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उनी जीवनराम प्यानलका हुन् । नीलेन्द्रले उमेशलाल श्रेष्ठ प्यानलका पुरेन्द्रविक्रम लाखेलाई पराजित गरे । नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका लागि शनिबार (आज) मतदान भएको थियो ।