नेपाल ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा श्रेष्ठले आप्ना निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई ७ मतले हराएका हुन् ।
जीवनरामकै प्यानलबाट महाचिवमा निलेन्द्रराज श्रेष्ठ पनि निर्वाचित भए । निलेन्द्रले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित भएका हुन् । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याएका छन् । पाँच उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिलकुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।
उपाध्यक्षमा उम्मेदवारी दिएका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भए । समिमले १२ मत मात्र प्राप्त गरे समिमसँगै राजीब श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित भए ।
सचिवमा राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशबकुमार विष्ट पराजित भए । विष्ट १ मतले पराजित भएका हुन् । तीनजना सचिव रहेको ओलम्पिकमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमा विष्टले १७ मत ल्याउँदै पराजित हुँदा १८ मत ल्याएका रामजीबहादुर श्रेष्ठ विजयी भए । यस्तै दीपकहर्ष बज्राचार्यले २५ मत र तुलसा थापाले २१ मत ल्याएर विजयी भए ।
सदस्यमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भएका छन् । २७ जना प्रतिनिधि भएको निर्वाचनमा प्रकाशशम्सेर, गोपालसुन्दर, दीर्घबहादुर र रमेश शिवाकोटीले समान २६–२६ मत प्राप्त गरेका थिए । यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी भए । पराजित भएका सदस्य मनोरञ्जन रमण शर्माले ८ मत प्राप्त गरे ।