नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेट (सीपीएल)को दोस्रो खेलमै ‘म्यान अफ द’ म्याच बनेका छन्। आज विहान भएको खेलमा सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै आफ्नो टिम बार्बाडोस ट्रिन्डेडलाई सेन्ट किट्सविरुद्ध १८ रनको जित दिलाएका थिए। बार्बाडोसको जारी प्रतियोगितामा पहिलो जित पनि हो।
१ सय ८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६८ रन मात्रै बनाउन सक्यो। उसका लागि लौरी इभान्सले ४१ बलमा १० चौका र १ छक्का सहित ६४ रनको योगदान दिए। तल्लोक्रममा डोमोनिक ड्रक्सले १४ बलमा समान ३ चौका र छक्का सहित ३४ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन्।
बार्बाडोसलाई जित दिलाउन सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ थालेको बार्बाडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो।
सन्दीपले पाँचौ ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका थिए। जसमा उनले ७ रन खर्चिए। लगातार दुई बल डट राखेका सन्दीपले तेस्रो र चौथोे बलमा १–१ रन खर्चिएका थिए। पाँचौ बलमा लौरी इभान्सले चौका प्रहार गर्दा अन्तिम बलमा १ रन दिए।
सन्दीपले ११ औं ओभर व्यक्तिगत दोस्रो ओभर गर्दा पनि ७ रन नै दिए। समराह ब्रुक्सलाई सुरुवाती चार बल डट राख्दा पाँचौ बलमा छक्का दिएका थिए।
१३ ओभरको पहिलो बलमै सन्दीपले एलशे नर्शबाट ब्रुक्सलाई १३ रनमा क्याच आउट गराए अन्तिम बलमा उत्कृष्ट प्रर्दशन गरि रहेका इभान्सलाई सन्दीपले जोश लालोरबाट ६४ रनमा क्याच आउट गराउँदै बार्बाडोसलाई खेलमा फर्काउन मद्दत गरे।
सन्दीपले १५ औं ओभरको तेस्रो बलमा कप्तान कार्लोस वर्थवेटलाई १ रनमा एलबी डब्लू आउट गर्दै ब्यक्तिगत तेस्रो सफलता हात पारेका थिए। चौथो बलमा १ रन खर्चिदा पाँचौ र र छैटौ बल डट राख्दै आफ्नो चार ओभरको कोटा सकाए। उनले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए।