नेपाल शिन क्योकुशिन कराते संघ, गुर्जधारा शाखाको आयोजनामा दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराँते प्रतियोगिता काठमाडौंको गर्जुधारामा हुने भएको छ।
बुधबार राजधानीको त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष विक्रम नकर्मीले प्रतियोगिता भदौं २७ र २८ गते हुने जानकारी दिए। नकर्मीका अनुसार पुरुषतर्फ ७ र महिलातर्फ २ गरी कुल ७ तौल समूहमा प्रतियोगिता हुनेछ।
प्रतियोगितामा विभिन्न २२ जिल्लाका १७५ जना खेलाडीको सहभागीता रहने बताइएको छ। प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुने खेलाडी तथा पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई नगदसहित शिल्ड प्रदान गरिने अध्यक्ष नकर्मीले जानकारी दिए।
त्यसैगरी, फुल कन्ट्र्याक्ट कराते प्रतियोगिताको पहिलोपटक प्रत्येक खेलाडीलाई २ लाख रुपैयासम्मको खेलाडी बीमा गरिएको आयोजक संस्थाका संरक्षक कुमार श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले गर्नेछन् भने समापन चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले गर्ने कार्यक्रम रहेको छ।