सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो।
जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे। यस्तै अब्दुल्लाह मावी र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे।
बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो।
कुवेतसँगको फराकिलो हारसँगै समूह 'बी' को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ। कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ।
यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ। जोर्डनले चाईनिज ताईपेलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ।