अन्तत नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिएको छ।
लामिछानेलाई भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएरअमेरिकाले भिसा दिएको हाे।
****
दूताबासले सन्दीपलाइ पुन: बाेलायाे
नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको नेपालस्थित अमेरिकी दूतावासले रिभ्युका लागि भन्दै पुन: बोलाएको छ।
सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ प्रतियोगितामा सहभागी हुन मंगलबार बिहान भिसाका लागि आवेदन दिएकामा दूतावासले रिजेक्ट गरेको थियो । दूतावासले भिसा नदिएपछि सन्दीपले आफू आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतलाई मेन्सन गर्दै ट्विट गरेका थिए । दूतावासले पुन: बोलाएपछि सन्दीप भिसाका लागि पुगेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई सुरुमा भिसा अस्वीकार गरिए पनि पुन: बोलाएकाले त्यहाँ गएको नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जनाए । उनले भने, 'हामी फेरि दूतावासमा फर्किएका छौं ।'
यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ खेल्न अमेरिका हुँदै जनाका लागि मंगलबार काठमाडौंस्थित दूतावासमा भिसा अप्लाई गरेका थिए । सबै कागजात समावेश हुँदा पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्विटरबाटै जानकारी गराएका थिए ।
सीपीएलको दोस्रो सिजन खेल्न लागेका सन्दीप यसपटक बार्बाडस ट्राइडन्ट्स्मा ७८ लाख रुपैयाँमा आवद्ध भएका थिए । सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ । त्यसअघि सन्दीपले अमेरिका भ्रमण गर्न चाहेका थिए ।
****
क्रिकेटर सन्दीप लामिछाने भन्छन्, 'अमेरिकाले भिसा नदिँदा अचम्मित भएँ'
क्रिकेटका राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
उनले ट्विटमार्फत क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ प्रतियोगितामा सहभागी हुन भिसाका लागि आवेदन दिएकामा आफूलाई अमेरिकी राजदूतावासबाट भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।
‘राष्ट्रिय क्रिकेट खेलाडीका रूपमा मैले सन् २०१६ यता विश्वका विभिन्न लिगमा देशको प्रतिनिधित्व गर्दै आएको छु,’ उनले लेखेका छन्, ‘भिसा अस्वीकृत भएकोमा म एददमै अचम्मित भएको छु।’
उनले प्रधानमन्त्री परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय, हेल्लो सरकार, सीपीएललगायतलाई मेन्सन गर्दै ट्विट गरेका छन् ।
‘यो सब देखेर म हासिँरहेको थिएँ र शब्दविहीन भएँ। आवश्यक सम्पूर्ण कागजात हुँदाहुँदै पनि अस्वीकृत हुनु अचम्म छ,’ उनले लेखेका छन्, ‘एक खेलाडीका रूपमा सीपीएलमा सहभागी हुन अब कठिन बन्दै छ।’
सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगस्ट अन्त्यसम्म पुगिसक्नुपर्छ ।