प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन भौतिक पूर्वाधारको अनुगमन गर्न आइतबार ५ सदस्यीय उपसमिति गठन गरेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । उपसमिति सदस्यमा गजेन्द्रबहादुर महत, नवीना लामा, नारायणप्रसाद मरासिनी र नमिताकुमारी चौधरी छन् ।
१३औं साग डिसेम्बर १ देखि १२ सम्म काठमाडौं र पोखरामा हुँदैछ । खेलकुदको तयारीको सम्बन्धमा अनुगमन निरीक्षण गर्न उपसमिति गठन गरिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । समितिलाई सागको तयारीबारे प्रतिवेदन बुझाउन भनिए पनि समयावधि तोकिएको छैन ।
१९८४ मा नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो खेल प्रतियोगिता हो । झन्डै २० वर्षपछि नेपाल फर्किन लागेको सागका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणले गति नलिँदा दुईपटक सरिसकेको सागको मिति पुन: सर्नसक्ने खतरा पनि छ । नेपालले दोस्रोपटक १९९९ मा दक्षिण एसियाली खेलकुदको आठौं संस्करण काठमाडौंमा गरेको थियो । यो १३औं साग हुनु भनेको नेपाल तेस्रोपटक आयोजक बन्नु हो ।