नेपालको अर्को बर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने सपना अधुरो बनेको छ। सिंगापुरमा भएको टी २० एसिया छनोटको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि सपना अधुरो बनेको हो।
यो प्रतियोगिता जितेको भए नेपाल ग्लोबल छनोटमा पुग्ने थियो। ग्लोबल छनोटमा शीर्ष ६ भित्र पर्ने टिमले अस्ट्रेलियामा आयोजना हुने टी २० विश्वकप खेल्न पाउने थिए। आईसीसीले ४ वर्षका लागि एक दिवसीय मान्यता दिएपछि ठूलो प्रतियोगिता खेलेको नेपाललको प्रदर्शन निकै नै कम्जोर बन्यो। पहिलो खेलमा कतारसँग पराजित हुँदै प्रतियोगिताको शुरुआत गरेको नेपालले दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा कुवेतलाई पराजित गर्दै खेलमा फर्किएको थियो।
राउण्ड रोविन लिग अनुसार अन्तिम खेल भए पनि नेपाल र सिंगापुरबीचको खेल फाइनल जस्तै बन्यो। जसमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ६विकेट गुमाएर १९१ रनको विशाल योगफल तयार पार्यो। यसअघिका खेलमा नेपाली बलरले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरे पनि सिंगापुरविरुद्ध स्पीन बलर त झनै निरिह नै देखियो।
दोस्रो ओभरको चौथो बलमा नेपालका करण केसीले पहिलो सफलता दिलाए पनि सिंगापुरले रन बनाउनका लागि आक्रामक सटलाई निरन्तरता दिएका थियो। दोस्रो विकेटका लागि रोहन रंगराजन र टिम डेभिडले ८९ रनको साझेदारी गर्दै सिंगापुरलाई बलियो स्कोर तर्फ अग्रसर गराएका थिए। रोहन ४९ रन बनाएर अविनास बोहराको बलमा आउट भए।
त्यसपछि डेभिड र मनप्रित सिंहले सिंगापुरको स्कोर बोर्डमा ६६ रन थपे। डेभिड ७७ रन बनाएर अबिनासको बलिङमा आउट भए। सिंगापुरका चेतन सूर्यबंशीले खाता नै खोल्न सकेनन्। पाँचौं विकेटको रुपमा मनप्रित सिंह ४२ रन बनाएर आउट भए। छैटौं विकेटको रुपमा अबिनासले जनक प्रकाशलाई बोल्ड गरे। नेपालका अविनास बोहराले ४ विकेट लिँदा करण केसीको नाममा दुुई विकेट रह्यो।
आजको खेलमा बसन्त रेग्मी, सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषावकर विकेट विहीन बने। १९२ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालको ब्याटिङ पनि चल्न सकेन। पहिलो विकेटको रुपमा पारस खड्का व्यक्तिगत १२ रन बनाएर आउट भए। त्यसपछि ज्ञानेन्द्र र शरदले नेपालको पारि अगाडि बढाएका थिए।
आक्रामक सट प्रहार गरिरहेका ज्ञानेन्द्र पनि ३९ रन बनाएर पेभेलियन फर्किएपछि नेपालले ५४ रनको स्कोर हुँदा २ विकेट गुमायो। भेषावकरले पनि ठूलो पारि खेल्न सकेनन्। उनी सात रनमा आउट भए। त्यसपछि क्रिजमा आएका रोहितकुमार पौडेलबाट नेपाली टिमले आशा गरेको थियो। उनले पनि नेपाली समर्थकलाई निराश बनाउँदै ५ रनमा पेभेलियन फर्किए। पाँचौ विकेटको रुपमा विनोद भण्डारी ९ रन बनाएर आउट भए। छैैटौं विकेटको रुपमा करण केसी सून्य रनमै आउट भएका थिए।
नेपालको रन १०० हुँदा सातौं विकेटको रुपमा सोमपाल कामी रन आउट भए। क्रिजमा रहेका दीपेन्द्रसँग तालमेल नमिल्दा उनी ११ रन बनाएर आउट भएका थिए। आठौं विकेटको रुपमा सन्दीप लामिछानेले पनि सुन्य रनमै आउट भए।
नवौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी वाइड बलमा स्टम्प आउट भए। दीपेन्द्रले २३ रन बनाए। अन्तिम विकेटको रुपमा अबिनाश बोहरा खाता नै नखोली आउट भएपछि नेपालले ३१ बल बाँकी छँदै सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो। सिंगापुरका सेलादोर बिजय कुमारले सर्वाधिक चार विकेट लिए।