आईसीसी टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा १९२ रनको लक्ष्य पछ्याएको नेपाल शुरुमै दवामा आएको छ। अहिले सम्म नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र रोहितकुमार पौडेल आउट भइसकेका छन्।
पहिलो विकेटको रुपमा पारस खड्का व्यक्तिगत १२ रन बनाएर आउट भए। त्यसपछि ज्ञानेन्द्र र शरदले नेपालको पारि अगाडि बढाएका थिए। आक्रामक सट प्रहार गरिरहेका ज्ञानेन्द्र पनि ३९ रन बनाएर पेभेलियन फर्किएपछि नेपालले ५४ रनको स्कोर हुँदा २ विकेट गुमायो। भेषावकरले पनि ठूलो पारि खेल्न सकेनन्। उनी सात रनमा आउट भए।
त्यसपछि क्रिजमा आएका रोहितकुमार पौडेलबाट नेपाली टिमले आशा गरेको थियो। उनले पनि नेपाली समर्थकलाई निराश बनाउँदै ५ रनमा पेभेलियन फर्किए। पाँचौ विकेटको रुपमा विनोद भण्डारी ९ रन बनाएर आउट भए। १०.२ ओभरको खेल सकिँदा नेपालले ५ विकेट गुमाएर ७९ रन बनाएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो। आजको विजेताले ग्लोबल क्वालीफायरमा स्थान बनाउने छ। दोस्रो ओभरको चौथो बलमा नेपालका करण केसीले पहिलो सफलता दिलाए पनि सिंगापुरले रन बनाउनका लागि आक्रामक सटलाई निरन्तरता दिएका थियो।
दोस्रो विकेटका लागि रोहन रंगराजन र टिम डेभिडले ८९ रनको साझेदारी गर्दै सिंगापुरलाई बलियो स्कोर तर्फ अग्रसर गराएका थिए। रोहन ४९ रन बनाएर अविनास बोहराको बलमा आउट भए। त्यसपछि डेभिड र मनप्रित सिंहले सिंगापुरको स्कोर बोर्डमा ६६ रन थपे।
डेभिड ७७ रन बनाएर अबिनासको बलिङमा आउट भए। सिंगापुरका चेतन सूर्यबंशीले खाता नै खोल्न सकेनन्। पाँचौं विकेटको रुपमा मनप्रित सिंह ४२ रन बनाएर आउट भए। छैटौं विकेटको रुपमा अबिनासले जनक प्रकाशलाई बोल्ड गरे। नेपालका अविनास बोहराले ४ विकेट लिँदा करण केसीको नाममा दुुई विकेट रह्यो। आजको खेलमा बसन्त रेग्मी, सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषावकर विकेट विहीन बने।