आईसीसी टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले सिंगापुरबाट १९२.रनको विशाल लक्ष्य पाएको छ।
सिंगापुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको हो। आजको विजेताले ग्लोबल क्वालीफायरमा स्थान बनाउने छ। टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले आक्रामक क्रिकेट खेलेको छ। दोस्रो ओभरको चौथो बलमा नेपालका करण केसीले पहिलो सफलता दिलाए पनि सिंगापुरले रन बनाउनका लागि आक्रामक सटलाई निरन्तरता दिएका थियो।
दोस्रो विकेटका लागि रोहन रंगराजन र टिम डेभिडले ८९ रनको साझेदारी गर्दै सिंगापुरलाई बलियो स्कोर तर्फ अग्रसर गराएका थिए। रोहन ४९ रन बनाएर अविनास बोहराको बलमा आउट भए। त्यसपछि डेभिड र मनप्रित सिंहले सिंगापुरको स्कोर बोर्डमा ६६ रन थपे।
डेभिड ७७ रन बनाएर अबिनासको बलिङमा आउट भए। सिंगापुरका चेतन सूर्यबंशीले खाता नै खोल्न सकेनन्। पाँचौं विकेटको रुपमा मनप्रित सिंह ४२ रन बनाएर आउट भए। छैटौं विकेटको रुपमा अबिनासले जनक प्रकाशलाई बोल्ड गरे। नेपालका अविनास बोहराले ४ विकेट लिँदा करण केसीको नाममा दुुई विकेट रह्यो।
आजको खेलमा बसन्त रेग्मी, सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषावकर विकेट विहीन बने।