आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ। सिंगापुरमा जारी प्रतियोगितामा कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरको हो।
नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतकीय पारि खेले। उनले ४२ बल फेस गर्दै समग्रमा ६८ रन जाडे। उनले ११ चौका तथा एक छक्का प्रहार गरे। कतारविरुद्धको खेलमा घाइते भएपछि मलेसियाविरुद्ध मैदान उत्रन नसकेका पारस आज प्रदीप ऐरीको ठाउँमा खेलेका थिए।
उपकप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्न आएको जोडिले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेको थियो। पहिलो विकेटको रुपमा नेपालको स्कोर ४४ रन हुँदा ज्ञानेन्द्र २१ बलमा २१ रन बनाएर आउट भए। उनले आफ्नो पारीमा ३ चौका प्रहार गरेका थिए।
ज्ञानेन्द्र आउट भएपछि क्रिजमा आएका शरद भेषावकर र कप्तान खड्काले नै नेपालको पारि अगाडि बढाए। कप्तान खड्काले ३१ बलमा अर्धशतक पुरा गर्दै नेपाललाई जित नजिक पुर्याउन मद्दत गरे। त्यसपछि पनि पारसले आक्रामक पारि खेले।
अर्धशतक पुरा गरेसँगै पारसका ब्याटबाट छक्का पनि प्रहार भएको थियो। पारस ६८ रन बनाएर आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए। अन्तिमसम्म क्रिजमा रहेका शरद भेषावकरले २६बलमा २९ रन बनाए भने रोहित कुमार पौडेल ६ रनमा नटआउट रहे।
कुवेतका मुहम्मद कशिफले नेपालका खसेका तीन विकेट नै आफ्नो नाममा पारे। नेपालले आइतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। सिंगापुरलाई जितेमा नेपालले ग्लोबल छनोटमा स्थान पक्का पनि गर्ने छ।