नेपाली जनसम्पर्क समिति डेनमार्कको आयोजनामा भएको ‘जनसम्पर्क समिति कप’ फुटबल प्रतियोगितामा हिमालयन क्लबले जित हात पारेको छ। फाइनलमा पुगेको बीएनडी युनाइटेड क्लबलाई सुन्यका विरुद्ध तीन गोल गरेर हिमालयन क्लब बिजेता बनेको हो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा हाइस्कोरर हिमालयन क्लबका प्रशान्त लामा बने भने उत्कृष्ट गोल रक्षक पनि हिमालयनकै केवल गिरि बने। उत्कृष्ट डिफेन्डर युनिटीका बिक्रम तिवारी, उत्कृष्ट टिम मेनेजर युनिटीका रमेश घिमिरे बने भने उत्कृष्ट राइजिङ्ग खेलाडीमा बेल्लाहोए क्लासिकका सुगम सुवाल बने।
बिजेता तथा उत्कृष्ट सबै खेलाडीहरुलाई डेनमार्कका लागि राजदुत युवनाथ लम्सालले कप तथा मेडल वितरण गरेका थिए। सो अबसरमा बोल्दै राजदूत लम्सालले विदेशमा भए पनि खेलप्रति नेपालीको चासो भएकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्रसिंह कार्कीले डेनमार्कस्थित नेपाली समुदायको हितमा नेपाली जनसम्पर्क समिति डेनमार्क सदैव सक्रिय रहदै आएको उल्लेख गर्दै भविष्यमा थप सक्रिय हुँदै जाने बताए।
कार्यक्रममा बिशेष अतिथि डा. अमृत राई, नेपाली जनसम्पर्क समिति डेनमार्कका संथापक सभापति नवीन पौडेल, पूूर्ब सभापति त्रिलोचल सापकोटा, यामलाल सुवेदी, नवीन आचार्य, स्थानीय डेनिस फुटबल क्लब स्टेफेनका प्रेसिडेन्ट हेनरिक पेडार्सन सहभागी थिए।
यो पटकको प्रतियोगितामा हिमालयन क्लब, बेल्लाहोए क्लासिक क्लब, युनिटी स्पोर्ट्स क्लब, बीएनडी युनाइटेड क्लब र जनसम्पर्क समिति डेनमार्क गरी पाँच टिम सहभागी थिए। कपको दाबेदार रहेको बेल्लाहोए क्लासिक टिम लिग चरणमै बाहिरिन पुग्यो भने पासा पुछा क्लब सहभागी भएन। अघिल्ला संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने साथै अघिल्लो पटक तेस्रो स्थान ओगटेको राइनो नेपाल टिम पनि यो पटक सहभागी हुन सकेन।
हरेक बर्ष नेपाली जनसम्पर्क समिति डेनमार्कले जनसम्पर्क कप फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ।
१० वर्ष भन्दा मुनिका र १० देखि १४ सम्मका गरी दुई खेल खेलाइएको थियो। उक्त खेलमा स्वयम् पौडेल, निर्भान काफ्ले, आगमन कार्की, सिद्धान्त अमगाईँ, सास्वद राना, अनुभव कार्की, देनिश चुडाल, बिशेष ढकालले उत्कृष्ट प्रदर्शन गरी दर्शको मन जितेका थिए।
यसैबीच, नेपाली जनसम्पर्क समिति डेनमार्कले छैटौ जेएसएस फूटबल प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।