फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले सहरको माग बन्दै गएको छ । सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यका मात्रै होइन, अन्य सहरका युवासमेत झु्म्मिन थालेका छन् ।
सहरका विशेषताका रुपमा आजकाल फुटसललाई लिने गरिन्छ । सन् १९३० देखि नै फुटसलको सुरु भएको मानिन्छ । पराग्वेबाट यो खेल सुरु हुँदा दक्षिण अमेरिकामै तीन दशकभन्दा बढी सीमित बन्यो । सन् २०१५ मा आइपुग्दा फुटसल विश्वव्यापीकरण भइसक्यो । सहरबासीका लागि फुटसल अपरिहार्य झैं बनिसक्यो ।
निष्पक्षतामा लागि युवा भन्ने मूल नारामा साथ कादम्बरी मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्बरी कप २०१९ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रथम मिराई कादम्बरी कप २०१९ का संयोजक खिमानन्द देवकोटाले जानकारी दिए ।
प्रतियोगितातामा विभिन्न ३२ बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रगियोगिताको नाराअनुरुप निष्पक्ष खेलको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । प्रतियोगिताले दिगो विकास लक्ष्यका लक्ष्य ३ स्वास्थ्य जीवनको सुनिश्चिता, लक्ष्य ४ गुणस्तरीय शिक्षा र लक्ष्य ५ लैंगिक समानातालाई विशेष सहयोग पुर्याउनेछ ।
प्रतियोगितामा महिला खेलाडीलाई थप सक्रिय बनाउन महिला पुरुष समान १६-१६ टिमको सहभागी गराउन लागिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत महिला टिमलाई विभेद हुँदै आइरहेको छ । विभिन्न रुपमा हुने विभेदलाई हटाउँदै निष्पक्ष प्रतियोगिता सञ्चालन गर्न लागिएको देबकोटाले जानकारी दिए ।
धन्यन्तरी फुटसल प्रा.लि.मा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितालाई मिराई एजुकेसन प्रा.लि.ले शीर्ष प्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँसहित ट्रफी र पदक तथा उपविजेताले २० हजार रुपैयाँसहित पदक र ट्रफी पाउने छन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।