सिंगापुरमा जारी आईसीसी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएकाे छ।
त्यहाँकाे इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको मध्यम योगफल खडा गरेको हो।
१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए। उनीहरुले ४९ रनको साझेदारी गरेका थिए।
छैटौं ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए। उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। ८.२ ओभरमा उपकप्तान मल्ल पनि २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन जोडेर आउट भए।
अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ७ रनमात्र जोड्न सके। औलाको चोटबाट पुनरागमन गरेका दीपेन्द्रसिंह ऐरीले नेपालका लाथि सर्बाधिक ३४ रनको पारी खेले। उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे।
रनआउट हुनुअघि सोमपाल कामीले ११ रन जोडे। नेपालको पुछारक्रमका ब्याट्सम्यानको प्रदर्शन यसपल्ट कमजोर देखियो। विनोद भण्डारी ३, करण केसी ४, बसन्त रेग्मीले १ रन बनाउँदा अविनाश बोहोरा र ललित नारायण राजवंशीले खाता नै खोल्नै सकेनन्। सन्दीप लामिछाने १ चौकासहित ९ रन जोडेर रनआउट भएका थिए।
अन्तिम २ ओभरमा नेपालले १३ रन जोड्दा ५ विकेट खेर फालेको थियो। पारीको अन्तिम ओभरको अन्तिम तीन बलमा नेपालले तीन विकेट गुमाएको हो।
बलिङमा कतारका इकबाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। तमोर साइजादल र नुमन सरवारले पनि २–२ विकेट लिए।