२०७२ सालको महाभूकम्पपछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला अहिले पुनर्निर्माणको अन्तिम चरणमा रहेको छ । करिब ९० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।
अब बाँकी १० प्रतिशत पनि चाँडै सकिने दावी गरिएको छ । यसबीचमा नेपालले २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको दोस्र्रो चरणको खेल खेल्दै छ । एसियाली छनोटका लागि बुधबार मात्रै टाई सिट प्रकाशित भइसकको छ । जस अन्तर्गत समूह बीमा रहेको नेपालले कुवेत, अस्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेईसँग प्रतिस्पर्धा गर्ने छ ।
होम एण्ड अवे आधारमा हुने प्रतिस्पर्धाका लागि नेपाली टिमलाई काठमाडौंमा गतिलो रंगशालाको आवश्यकता पर्ने छ । अहिले सातादोवाटोको टर्फ मैदान प्रयोग गर्दै आइएकोमा दशरथ रंगशाला तयार हुने आश्वासन राखेपले दिएको छ ।
यदि समयमै दशरथ रंगशाला तयार भए नेपालले अस्ट्रेलियासँग विश्वकपको छनोट खेलमा प्रतिस्पर्धा गर्ने छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले नेपालले खेल्ने विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि यहि साताबाट मैदानमा दुबो रोप्ने काम सुरु गर्ने बताए ।
चीन सरकारको सहयोगमा रंगशालाको सेन्थेटिक ट्रयाक राख्ने, फ्लड लाइटको कामका हरु सकिएपछि भिआइपी प्याराफिट र साउण्ड सिस्टमको काम बाँकी रहेको छ । भीआइपी प्याराफिट बनेपछि साउण्ड सिस्टमको काम पनि समाप्त हुनेछ । यसका साथै मैदानको स्कोरबोर्डपनि तयार भएको छ ।
रंगशालाको अन्य काम सकिएपनि चीन सरकारले हस्तान्तरण नगर्दा मैदानमा दुबो रोप्ने काम शुरु भएको छैन् ।
नेपाल रहेको समूहमा एसियन कप जितिसकेको अष्ट्रेलियासँग नेपालले पहिलो पटक भिड्दै छ भने अरु टिमसँग यसअघि खेलि सकेको छ ।
नेपालले जोर्डनसँग ८ वर्ष अघि विश्वकप क्वालिफायरमै खेलेको थियो । यस्तै कुवेत र चाइनिज ताइपेईसँग पछिल्लो पटक मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपाल रहेको समूहका अरु तीन टिमसँग भने प्रदर्शन राम्रो गर्न सकेको छैन । नेपालले जोर्डन, चाइनिज ताइपेई र कुवेतसँगको खेल अहिलेसम्म जित्न सकेको छैन ।