खेलाडीहरुलाई दिनुपर्ने पदक उधारो राखेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज (मंगलबार) बाँडेको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने तथा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरुलाई राखेपले नगर पुरस्कार उपलब्ध गराएको छ । प्रतियोगिता भने ३ महिनाअघि नै सम्पन्न भएको थियो ।
प्रतियोगिताको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगद दिइएको छ । टिम स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही ७ हजार रुपैयाँ नगद प्रदान गरियो । राष्ट्रिय कीर्तिमान बनाउनेलाई जनही २५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।
आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत तथा टिम स्पर्धामा स्वर्ण पदक जित्ने ७ सय ७ र राष्ट्रिय कीर्तिमान बनाउने १६ गरी कुल ७ सय २३ खेलाडीलाई राखेपले घोषित पुरस्कार वितरण गरेको हो । आठौं राष्ट्रिय खेलकुदमा ३ सय ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबले १ सय ४० स्वर्ण पदक जितेको थियो । दोस्रो स्थानको नेपाल पुलिस क्लबले ६२ स्वर्ण र तेस्रो स्थानमा रहेको सशत्र प्रहरीको एपीएफ क्लबले ५४ स्वर्ण पदक जितेका थिए। प्रदेश ३ ले २२, प्रदेश ५ ले ११, गण्डकीले १२, सुदूरपश्चिम प्रदेशले ८, प्रदेश १ ले ९, प्रदेश २ ले ६, एनआरएनएले ६ र कर्णाली प्रदेशले ३ स्वर्ण पदक जितेका थिए ।