इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।
लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो।
योसँगै इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। इंग्ल्याण्ड एकदिवसीय विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ। न्युजिल्याण्ड भने पुन: फाइनलमा पराजित भएको छ।
लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पनि खेलले नाटकीय रुप लियो। इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो। जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो। तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जितेको हो।
इंग्ल्याण्डले २४ बाउन्ड्री प्रहार गरेको थियो भने न्युजिल्याण्डले १६ बाउन्ड्री प्रहार गरेको थियो।सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले। बटलर ५९ रनमा आउट भए । स्टोक्सले अविजित ८४ रन बनाए ।
न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले ३-३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो।
न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले। उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए। यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए। मार्टिन गुप्टिल र जेम्स निशमले १९-१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे। इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३-३ विकेट लिए।