क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भएको ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ ।
कप्तान पारस खड्काको अर्धशतकको मद्दतले नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको मलेसियाले ९ विकेट गुमाएर दिएको १ सय २९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा मात्रै ३ विकेट गुमाएर पूरा गरेको हो ।
ओपनिङ गर्न आएका खड्काले ५० बलमा अर्धशतकीय इनिङ खेल्दै ८ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८६ रन जोडे। अर्का ओपनर प्रदीपसिंह ऐरी १७ बलमा ८ रन जोडेर पभेलियन फर्किए ।
ज्ञानेन्द्र मल्ल ७, रोहितकुमार पौडेल ५ रनमा आउट हुँदा शरद भेषावाकर १६ रनमा अविजित रहे ।
मलेसियाका लागि अनवर रहमानले २ तथा फिट्री सामले १ विकेट लिए । मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन जोडेको थियो ।
मलेसियाका ओपनर सिंहले उत्कृष्ट इनिङ खेल्दै ४९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए । उनी १५औं ओभरमा वसन्त रेग्मीले फालेको दोस्रो बलमा प्रदीपसिंह ऐरीको हातबाट क्याच आउट भए ।
जितसँगै नेपालले मलेसियाविरुद्ध पछिल्लो ५ भेटमध्ये ४ खेलमा विजय हासिल गरेको छ । २००७ को एसिसी ट्वान्टी–२० मा नेपाल २१ रनले विजयी भएको थियो। २००९ को एसिसी ट्वान्टी–२० मा मलेसियाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो। २०१३ मा नेपालमै सम्पन्न एसीसी ट्वान्टी–२० कपमा नेपाल १९ रनले विजयी भएको थियो । पछिल्लोपटक मलेसियामै सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।
नेपाली टोली त्यहीबाट साउन ४ गते सिंगापुर प्रस्थान गर्नेछ । सिंगापुरमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले कुवेत, सिंगापुर कतार र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।