साउन ६ गतेदेखि सिंगापुरमा हुने टी–२० विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यका साथ नेपाली राष्ट्रिय टोली मलेसिया प्रस्थान गरेको छ ।
मलेसियामा दुई टी–२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ । सिंगापुरमा साउन ६ गतेदेखि हुने प्रतियोगितमा घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ । पाँच देशले एकअर्कासँग खेल्दा शीर्ष स्थानमा रहने टोलीले टी –२० विश्वकप छनोट खेल्नेछ । एसिया फाइनलमा तुलनात्मक रुपमा नेपाल बलियो दाबेदार हो । आईसीसी बरियतामा नेपाल अरु देशभन्दा माथि छ । तर विश्वकप खेल्ने बाटो भएकाले कुनै पनि टिमलाई सहज रुपमा नलिने कप्तान पारस खड्काले बताए।
नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पनि अवस्थाअनुसार योजना बनाएर खेल्ने सोच रहेको बताए । नेपालले २०१४ मा टी–२० विश्वकप खेलेको थियो भने २०१६ मा खेल्न सकेन । अब २०२० मा अष्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपाली टोलीको रहेको सपना छ । त्यसका लागि यूएईमा हुने ग्लोबल छनोट खेल्नुअघि एसिया फाइनलमा शीर्ष स्थानमा रहन सक्नुपर्ने छ ।