राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा दोस्रो कार्यकाल पड्काउने केशवकुमार विष्टको योजना तुहिएको छ। ४ वर्षे कार्यकाल मस्तीमै बिताएका विष्ट पुन: सदस्यसचिव पड्काउने दाउमा थिए। सबै शक्ति केन्द्र धाए पनि अन्त्यमा गोल्डेनगेट इन्टरनेसनल कलेजका सञ्चालक रमेशकुमार सिलवाल सिकन्दर बनेका छन्। सिलवाल प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्।
४ वर्षअघि सदस्यसचिवमा नियुक्त भएसँगै विष्ट विवादित मानिन्छन्। उनकै कारण तत्कालीन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राजीनामै गर्नुपर्यो। जबिक विष्टलाई पौडेलले नै नियुक्ति दिलाएका थिए। विष्ट यति विवादित भए कि प्रधानमन्त्री ओली त उनको नाम पनि सुन्नै चाहँदैन थिए। दक्षिण कोरियामा भएको खेलकुद प्रतियोगितामा सेपाकताक्रोका खेलाडीसहित ३ खेलाडीलाई उतै लुकाएको आरोप विष्टमाथि नलागेको होइन तैपनि तत्कालीन खेलकुद मन्त्री पौडेलले आफैंले चुनौती मोल्दै विष्टलाई राखेपको सदस्यसचिव बनाउन त सफल भए तर आफ्नो छँदाखाँदाको मन्त्री पदलाई कुर्बानी गर्नुपर्यो।
वैशाख ५ गते उदघाटन भई ११ गते समापन गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन हेरैरै थाह लाग्छ विष्ट कति असफल हुन् भनेर। वैशाख ५ मा उदघाटन भए पनि प्रतियोगिता भने चैत २७ गते नै सुरु गरी गाईजात्रे पारा देखाइएको थियो। उदघाटन हुनुअघि नै प्रतियोगिता सकाएर खेलाडीहरु घर पुगिसकेका थिए।
उता खेलाडी तथा अतिथि व्यवस्थापन पनि अस्तव्यस्त बनेको थियो। बाँकेको गर्मी थेग्न खेलाडीलाई सकस भएको त त्यसबेलाका पत्रपत्रिकामा छापिएका तस्बिर नै पर्याप्त थिए। खेलाडीहरु चाउचाउकै भरमा भिड्न बाध्य थिए।
बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु, कास्की, काठमाडौंमा प्रतियोगिताहरु गराइएका थिए। यसरी अस्तव्यस्त रुपमा भएको प्रतियोगिता विष्टले ठूलो उपलब्धिका रुपमा लिएका छन्।
मुलुककै खेल क्षेत्रको बागडोर सम्हाल्ने राखेपको सदस्य-सचिव नियुक्तको खेलमा फेरि सहभागी बनेका विष्टलाई कहिल्यै उठ्नै नसक्नेगरी नवनियुक्त सदस्यसचिव सिलवालले पछारिदिएका छन्।
नयाँ सदस्यसचिव नियुक्ति तथा शपथ ग्रहणमा लाजै पचाएर पुगेका विष्टको अनुहार हेर्नलायक देखिन्थ्यो। उसो त सिलवाल नेपाल क्रिकेट संघको विवादित तदर्थ समितिका पूर्वअध्यक्ष पनि हुन्। उनी पनि विवादित नै व्यक्ति भए पनि प्रधानमन्त्री ओली र खेलकुदमन्त्री जगतबहादु विश्वकर्मालाई रिझाएरै सदस्यसचिवको पद उछिट्याएका हुन्।
युवा तथा खेलकुदमन्त्री विश्वकर्माले मन्त्रीस्तरीय निर्णयबाट सिलवाललाई आगामी ४ वर्षका लागि खेलकुदको बागडोर जिम्मेवारी भने सोमबारै दिइसकेका छन्। उता विष्ट अर्को कुनै नियुक्ति पाइन्छ कि भन्दै च्याँखे दाउ हेरेर बसेका छन्। ओली प्रधानमन्त्री हुने बेलासम्म विष्टले कुनै नियुक्ति पाउने सम्भावना भने कतै पनि देखिँदैन। उता सिलवालले सोमबारबाटै नियुक्ति लिई पदबहालीसमेत गरेपछि विष्ट अहिले पानीविनाको माछो भइरहेका छन्।
खेलकुद ऐनअनुसार राखेप सदस्यसचिवका लागि पहिले बोर्ड सदस्य हुनुपर्छ । कुनै पनि खेल संघमा नरहेका सिलवाल भलिबल संघको प्रतिनिधिको हैसियतमा सदस्यसचिवका लागि योग्य बनेका हुन् भन्दा पनि योग्य बनाइएको चर्चा छ।
विष्टको चारवर्षे कार्यकाल असार ९ मै सकिएपछि नयाँ सदस्यसचिवका लागि स्वयं विष्ट, नेपाल भलिबल संघका पूर्वअध्यक्ष दानबहादुर तामाङ, नेकपानिकट नेपाल खेलकुद महासंघका उपसंयोजक शिव कोइरालालगायत आकांक्षी थिए। सबैलाई पछि पार्दै प्रधानमन्त्री ओलीनिकट मानिएका सिलवालले सदस्य-सचिवको जिम्मेवारी पाएका हुन्।
उनलाई नेपाली खेलकुदमा काम गरी देखाउने अवसर प्रशस्त छन्। उनले निवर्तमान सदस्य-सचिव विष्ट झै विवादित भएर कार्यकाल पूरा गर्लान् या सफल यसका लागि भने ४ वर्ष कुर्नै पर्नेछ ।
गोल्डेनगेट इन्टरनेसनल कलेजका सञ्चालक सिलवालले नेपाल क्रिकेट संघ क्यानबाट खेलकुदमा प्रवेश गरेका हुन् । उनी पैसावाल व्यापारिका रुपमा समेत परिचित छन्।