एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपाल र हङकङक भिडिरहेका छन्। मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ। नेपाली बलरहरु हाबी भएको खेलमा हङकङका अदित गरोराले सर्वाधिक २४ रन बनाउँदा कलान मार्कले १९ रनको योगदान गरे। यसैगरी रौनक कपुर पनि १२ रनमा आउट भए।
अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा हङकङले तेहेरो अंकमा रन बनाउन नसकेको हो। उसका चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन्। नेपालका सागर ढकालले सर्वाधिक ५ विकेट लिए। लेगस्पिनर सागरले पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका थिए। उनले समग्रमा १० ओभरको स्पेलमा ५ ओभर मेडन राखेर १८ रन खर्चदैं हङकङका पाँच खेलाडी आउट गरेका हुन्।
८ ओभर बलिङ गरेका कमलसिंह ऐरीले २ ओभर मेडन राख्दै २३ रन खर्चिएर ३ विकेट हात पारे। कुशल मल्लले ५.१ ओभर बलिङ गर्दा ५ ओभर मेडन राख्दै ४ रन खर्चिएर १ विकेट लिए। ४ ओभर बलिङ गरेका तिलकराज भण्डारीले १ ओभर मेडन राख्दै १२ रन दिएर १ विकेट लिए। आजको खेलमा रसिद खान र पवन शर्राफ भने विकेट विहीन बने।