राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । उनी नेपाल क्रिकेट संघको विवादित तदर्थ समितिका पूर्वअध्यक्ष पनि हुन् ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीस्तरीय निर्णयबाट उनलाई आगामी ४ वर्षका लागि खेलकुदको बागडोर सम्हाल्ने जिम्मेवारी दिएका हुन् । उनले आजै मन्त्री विश्वकर्माबाट नियुक्ति लिई पदबहालीसमेत गरेका छन् । खेलकुद ऐनअनुसार राखेप सदस्यसचिवका लागि पहिले बोर्ड सदस्य हुनुपर्छ । कुनै पनि खेल संघमा नरहेका सिलवाल भलिबल संघको प्रतिनिधिको हैसियतमा सदस्यसचिवका लागि योग्य बनेका हुन् ।
केशवकुमार विष्टको चारवर्षे कार्यकाल असार ९ मा सकिएपछि नयाँ सदस्यसचिवका लागि स्वयं विष्ट, नेपाल भलिबल संघका पूर्वअध्यक्ष दानबहादुर तामाङ, नेकपानिकट नेपाल खेलकुद महासंघका उपसंयोजक शिव कोइरालालगायत आकांक्षीलाई पछि पार्दै प्रधानमन्त्री केपी ओलीनिकट मानिएका सिलवालले जिम्मेवारी पाएका हुन् ।
उनलाई नेपाली खेलकुदमा काम गरी देखाउने अवसर प्रशस्त छन् । उनले निवर्तमान सदस्य-सचिव विष्ट झै विवादित भएर कार्यकाल पूरा गर्लान् या सफल यसका लागि भने ४ वर्ष कुर्नै पर्ने छ । राजधानीको गोल्डेनगेट इन्टरनेसनल कलेजका सञ्चालक सिलवालले नेपाल क्रिकेट संघ क्यानबाट खेलकुदमा प्रवेश गरेका हुन् ।