ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचालेको हो।
प्रतियोगितामा अन्डरडग टिमको पहिचान बनाउँदै ४४ बर्षपछि फाईनल पुगेको पेरु उपाधि जित्नबाट बञ्चितनै रह्यो। ब्राजिललाई १२ बर्षपछि कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे। उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेपछि ब्राजिलले फाईनल खेलमा सहज जित दर्ता गरेको हो।
खेलको १५ औ मिनेटमा जिससको पासलाई सदुपयोग गर्दै सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। बायाँबाट जिससकाे उपलब्ध गराएकाे क्रसलाई साेरेसले पाेस्टकाे दिशा दिएका थिए। पाओलो गुरेरोले ४४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए। ब्राजिली डिफेन्डर थिएगाे शिल्भाले ट्याकल गर्ने समय बलले उनकाे हातलाइ छाेएपछि पेरुले पेनाल्टीकाे अवसर पाएकाे थियाे।
तर पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को स्थितीमा पुर्याएका थिए। डिबक्सभित्र खाली रहेका जिससले सहजै गर्न सफल रहेका थिए। ७० औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो। तर खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए।
ब्राजिलले नवौ पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको छ। सन् २०१६ को ओलम्पिक खेलमा स्वर्ण जितेपछि ब्राजिलको यो पहिलो उपाधि हो। र योसंगै ब्राजिलले घरेलु मैदानमा आयोजित सबै संस्करणको कोपा अमेरिकाको उपाधि जित्ने कीर्तिमान समेत कायम राख्न सफल भएको छ।