एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह एमा रहेको नेपालले दुवै खेल जित्दै विजेताका रुपमा सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि २१७ रनको जित निकाल्न सफल भयो ।
नेपालले दिएको ३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९ रन बनाएर अलआउट भयो । सिंगापुरका ३ खेलाडीले मात्रै दोहोरो अंकको रन बनाउन सके । हरि कुक्रेजाले ३०, कन्नुसामी सतिशले २४ तथा चन्द्रमौली श्रीदेवले २३ रन जोडे । सिंगापुरले अतिरिक्त १५ रन पाएको थियो ।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए । कुशलले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिए । तिलकले ५.१ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिएका थिए । रसिद खान र सागर ढकालले पनि एक-एक विकेट बाँडे ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि रीत गौतमको शतक, खड्क बोहारा र कुशल मल्लको अर्धशतकमा ४ विकेट गुमाएर ३२६ रन बनेको थियो ।
ओपनर रीतको सानदार शतक र खडगले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।
ओपनर रीत र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट भएपछि आएका खड्कसँग मिलेर रीतले १३१ रनको शतकीय साझेदारी गरी पारी उकासे ।
४०औं ओभरमा खडक ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउन चुकेका उनले १२ चौका प्रहार गरे । त्यसपछि आएका विशालविक्रम केसी र कप्तान रोहितकुमार पौडेलले क्रमश: १ र ७ रन मात्र जोड्न सके । पाँचौं नम्बरमा आएर कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि नेपालले ३ सय रनको योगफल पार गरेको हो । ४७.१ ओभरमा रीतले १३१ बलमा शतक प्रहार गरे । उनले डिप स्क्वायर लेगमा चौका प्रहार गरी शतक बनाएका हुन् । रीतले १३७ बलमा ११५ रनको अविजित शतकीय पारी खेले ।
कुशलले २३ बलमा ५१ रनको विस्फोटक अर्धशतकीय पारी खेले । पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेका हुन् । बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले २-२ विकेट लिए ।