साविक विजेता चिलीलाई पराजित गर्दै पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका २०१९ को फाइनलमा पुगेको छ।
बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा दुई पटकको विजेता चिलीलाई ३-० ले पराजित गर्दै पेरुले तेस्रो पटक फाइनलमा स्थान बनाएको हो। ब्राजिलले पहिलो सेमिफाइनलमा अर्जेन्टिनालाई २-० ले हराएर १२ वर्षपछि फाइनलमा स्थान बनाएको थियाे।
पेरुलाई फाइनल पुर्याउन एडिसन फ्लोरेसले २१औँ र योसिमार योतुनले ३८औँ मिनेटमा गोल गरे। यस्तै इन्जुरी टाइममा जोस पाउओलो गुएरेरोले तेस्रो गोल गरे।
सन् १९३९ र १९७५ मा उपाधि जितेको पेरु २०११ र २०१५ मा सेमिफाइनलसम्म पुगेको थियो। पेरु ४४ वर्षपछि कोपाको फाइनलमा पुगेको हो।
उपाधि भीडन्त आइतबार बिहान हुनेछ। यी दुई टोलीबीच समूह चरणमा पनि खेल भएको थियो। जसमा ब्राजिलले पेरुलाई ५-० ले पराजित गरेको थियो।