साविक विजेता अष्ट्रेलिया आइसीसी विश्वकप क्रिकेट २०१९ मा सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ। लिग चरण अन्तर्गत मंगलवार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलियाले २ खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
अष्ट्रेलियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४.४ ओभरमा २२१ रनमा अलआउट भयो। अष्ट्रलियाका लागि कप्तान फिन्चले शतक प्रहार गरे भने जासोन बेहरोनडफले ५ र मिचेल स्टार्कले ४ विकेट लिए। इंग्ल्याण्डका लागि बेन स्टोक्सले ८९ रन बनाएपनि जितका लागि पर्याप्त भएन।
१० टोली सहभागि १२औं संस्करणको विश्वकपमा अंक तालिकामा शीर्ष चारमा रहने टिम सेमिफाइनल पुग्नेछन्। ७ खेल खेलिसकेको अष्ट्रलिया ६ जितसहित १२ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ। ६ खेलबाट अपराजित रहँदै ११ अंक जोडेको न्यूजिल्याण्ड दोस्रो स्थानमा छ भने अर्को अपराजित टोली भारत ५ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ।
लगातार दुई खेल हारेको इंग्ल्याण्ड भने ८ अंकसहित चौथो स्थानमा छ। घरेलु टोली इंग्ल्याण्डले ७ खेल खेल्दा ४ मा जित हात पारेको छ भने तीन खेल हारिसकेको छ। इंग्ल्याण्डले अब भारत र न्यूजिल्याण्डसंग खेल्न बाँकी छ। सेमिफाइनलमा स्थान बनाउन इंग्ल्याण्डले कम्तीमा पनि एक खेल जित्नैपर्ने छ।
लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया कप्तान आरोन फिन्चको शतक र डेविड वार्नरको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ७ विकेट गुमाएर २८५ रन बनाएको थियो। पहिलो विकेटका लागि फिन्च र वार्नरले १२३ रनको साझेदारी गरेपनि मिडल अर्डरले राम्रो साझेदारी गर्न नसक्दा अष्ट्रेलियाल २८५ रनमै रोकिएको थियो।
फिन्चले यस विश्वकपमा दोस्रो शतक बनाउने क्रममा ११६ बल खेल्दै ११ चौका र २ छक्काको मद्दतमा सय रन बनाए। यस्तै वार्नरले ६१ बल खेल्दै ६ चौकाको मद्दतमा ५३ रन जोडे। वार्नर यस विश्वकपमा सर्वाधिक रन बनाउनेमा पुन: शीर्ष स्थानमा उक्लेका छन् र ५०० रन पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन्।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ३८ र उस्मान खवाजाले २३ रन जोडे। विकेटकिपर एलेक्स केरीले नटआउट ३८ रन बनाए। केरीले २७ बल खेल्दै ५ चौका प्रहार गरे।
इंग्ल्याण्डका क्रिस वोक्सले २ तथा जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले १-१ विकेट लिए। इंग्ल्याण्डको लागि लक्ष्य मध्ययम भएपनि अष्ट्रेलियाले सुरुवातमै विकेट लिँदै विपक्षीलाई दबाबमा राख्यो।
बेहरोनडफले पहिलो ओभरको दोस्रो बलमै जेम्स भिन्सलाई शुन्यमा आउट गरे। स्टार्कले चौथो ओभरमा जो रुट (८) र कप्तान इओन मोर्गन (४) लाई आउट गरेपछि इंग्ल्याण्डले २६ रनमै ३ विकेट गुमायो। त्यसपछि १४औं ओभरमा बेहरोनडफले जोनी बेयर्स्टोलाई आउट गरे। बेयर्स्टोबले २७ रन बनाए।
५३ नमा ४ विकेट गुमाएको इंग्ल्याण्डको इनिङ्स सम्हाल्ने क्रममा बेन स्टोक्स र जोस बटलरले पाँचौ विकेटका लागि ७१ रनको साझेदारी गरे। तर स्टोक्सले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेएबाट निरन्तर विकेट झर्यो। २८ रन बनाए बटलरलाई मार्कुस स्टोइनिसले २८औं ओभरमा आउट गर्दै अष्ट्रेलियालाई पाँचौ सफलता दिलाए।
स्टोक्स र क्रिस वोक्सले छैटौँ विकेटका लागि अर्धशतकिय साझेदारी गरे। तर ३७औं ओभरको अन्तिम बलमा स्टार्कले स्टोक्सलाई बोल्डआउट गरेपछि खेल अष्ट्रेलियाको पक्षमा मोडियो। स्टोक्सले ११५ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा ८९ रन बनाए।
त्यसपछि क्रिजुमा पुगेका मोइन अलीलाई बेहरोनडफले आउट गरे। बेहरोनडफले त्यसपछि वोक्स (२६) लाई ४२औं र जोफ्रा आर्चरलाई ४४औं ओभरमा आउट गरेपछि इंग्ल्याण्डले २११ रन हुँदा नवौँ विकेट गुमायो। ४५औं ओभरको चौथो बलमा स्टार्कले अदिल रसिदलाई स्टोइनिसको हातबाट क्याचआउट गराएपछि इंग्ल्याण्ड २२१ रनमा अलआउट भयो। इंग्ल्याण्डलाई अलआउट गर्न बेहरोनडफले १० ओभरमा ४४ रन खर्चेर ५ विकेट लिए। यस्तै स्टार्कले ८.४ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर ४ विकेट लिए। स्टोइनिसले १ विकेट लिए।