राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दाबी गरेका छन्।
सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरण बारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताएका हुन् । काठमाडौंमा आइतबार आयोजित विशेष साक्षात्कारमा विष्टले यदि आफ्नो कार्यकाल दोहोरिए आइसिसीको हेडक्वार्टरमै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताए। उनको कार्यकाल भोलि सकिँदैछ। क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा पनि जोड दिए।
विष्टले १३ औँ दक्षिण एसियाली खेलकूल प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रहेको दाबी पनि गरे।