श्रीलंकाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरेको छ।
लासिथ मालिंगाको ४ र धनन्जय दा शिल्भाले ३ विकेट लिएपछि श्रीलंकाले २३२ रन डिफेण्ड गर्दै इंग्ल्याण्डलाई २० रनले पराजित गरेको हो।
यस विश्वकपमा श्रीलंकाको यो दोस्रो जित हो। श्रीलंकाले दुई खेल हारेको थियो भने दुई खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडेको थियो।
६ खेलबाट दुई जितसहित श्रीलंकाले ६ अंक नै जोडेको छ र अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लेको छ।
उता इंग्ल्याण्डको यो यो दोस्रो हार हो। इंग्ल्याण्ड यसअघि पाकिस्तानसंग पराजित भएको थियो। ६ खेलबाट ८ अंक रहेको इंग्ल्याण्ड भने तेस्रो स्थानमा यथावत छ। यसअघिका खेलहरुमा उत्कृष्ट ब्याटिङ गरेको इंग्ल्याण्डले श्रीलंका विरुद्ध भने ब्याटिङमा संघर्ष गर्नुपर्यो।
फलस्वरुप २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७ ओभरमा २१२ रनमा अलआउट भयो। इंग्ल्याण्डका लागि जो रुट र बेन स्टोकले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीको राम्रो साथ पाउन सकेन। रुटले ५७ रन बनाए। स्टोकले उत्कृष्ट ब्याटिङ गर्दै इंग्ल्याण्डलाई जिततर्फ डोहोर्याएपनि ४७औं ओभरको अन्तिम बलमा मार्क उड आउट भएपछि इंग्ल्याण्ड हार बेहवर्न बाध्य भयो।
स्टोकले ८९ बल खेल्दै ७ चौका र ४ छक्काको मद्दतमा नटआउट ८२ रन बनाएपनि त्यो जितका लागि पर्याप्त बन्न सकेन।
श्रीलंकाका लागि मालिंगाले १० ओभरमा १ मेडन राखद् ४३ रन खर्चेर ४ विकेट लिए। यस्तै धनन्जय दा शिल्भाले ३ र इसुरु उदानाले २ विकेट लिए। नुवान प्रदिपले १ विकेट लिए।
त्यसअघि लिड्समा टस जेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनाएको थियो। चार खेलाडीले मात्र दोहोरो अंक जोडेको श्रीलंकाली इनिङ्समा एन्जेलो म्याथ्युजले अर्धशतक प्रहार गरेका थिए। आभिस्का फर्नान्डो १ र कुशल मेन्डिस अर्धशतकबाट ४ रनले चुके।
म्याथ्युजले ११५ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा नटआउट ८५ रन बनाए। उनले चौथो विकेटका लागि कुशल मेन्डिससँग ७१ रनको साझेदारी गरे। आभिस्का फर्नान्डोले ४९ र कुशल मेन्डिसले ४६ रन योगदान गरे।
इंग्ल्याण्डका लागि जोफ्रा आर्चर र मार्क उडले ३-३ तथा आदिल रसिदले २ विकेट लिए।