१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा करिब ५ अर्व २६ करोड रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरेकाे छ ।
कार्यदल संयोजक तथा राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले अनुमानित बजेटको प्रतिवेदन आइतबार सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाइ हस्तान्तरण गरे ।
कार्यदलका अनुसार राष्ट्रिय टिम तयारीमा ८८ करोड १२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यस्तै, खेलस्थल व्यवस्थापनमा ३ करोड ११ लाख, प्राविधिक कामका लागि ३० करोड ४० लाख, स्रोत साधन परिचालनमा २० लाख, सुरक्षामा ५० करोड २६ लाख, आवासमा ४५ करोड ५२ लाख, यातायातमा १५ करोड ७ लाख, स्वास्थ्य समितिमा ३ करोड ४३ लाख लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै प्रचार प्रसारमा ८ करोड ९५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै, समारोहमा ७१ करोड ४६ लाख, स्वयंसेवक परिचालनमा २ करोड, अतिथि सत्कारमा १ करोड २९ लाख, खेल सामाग्रीमा १ अर्व २९ करोड, एन्टि डोपिङ्गमा ३ करोड ५४ लाख, आयोजक समितिमा २७ करोड, आईटी व्यवस्थापनमा १९ करोड र विविधमा २५ करोड बजेट अनुमान गरिएको छ । २७ खेल सम्मिलित साग गेम्स मंसिर १५ देखि २७ गतेसम्म हुँदैछ । जसका लागि पुर्वाधारको काम पनि भइरहेको छ ।
उक्त बजेट पुस्तक ग्रहण गर्दै मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद राष्ट्रको ईज्जत, प्रतिष्ठासंग जोडिएको भन्दै सवै पक्षबाट यसलाई सफलतापूर्वक सम्पन्न गर्न अपिल गरे ।
बजेट विभिन्न क्षेत्रका दक्ष तथा बिज्ञहरुसंग छलफल गरि निर्माण गरिएको उपाध्यक्ष तथा बजेट निर्माण कार्यदलका संयोजक तिम्सिनाले बताए । संयोजक तिम्सिनाले बजेट निर्माण गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सवैलाई धन्यवाद समेत प्रदान गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, मन्त्रालयका सचिव कुष्णप्रसाद देवकोटाको पनि उपस्थिती रहेको थियो ।