कप्तान आरोन फिन्चको शतक अनी मिचेल स्टार्कको उत्कृष्ट बलिङ मद्दतमा साविक विजेता अष्ट्रेलियाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा चौथो जित हात पारेको छ।
शनिवार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया अंकतालिकामा शीर्ष स्थानमा उक्लेको हो। ५ खेल खेलेको अष्ट्रेलियाले चार जित र एक हारसहित ८ अंक जोडेको छ। ५ खेलपछि श्रीलंकाको भने ४ अंक मात्र छ। श्रीलंकाले १ खेल जित्दा २ खेलमा वर्षाका कारण अंक बाँडेको थियो। दुई खेलमा भने श्रीलंकाले हार बेहोरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले कप्तान फिन्चको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३४ रनको बनाएको थियो। ३३५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा २४७ रनमा अलआउट भयो।
लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले उत्कृष्ट सुरुवात गरेको थियो। कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १५.५ ओभरमै ११५ रनको उत्कृष्ट साझेदारी गरेका थिए। तर मिचेल स्टार्कले कुशल परेरालाई आउट गर्दै अष्ट्रेलियालाई पहिलो सफलता दिलाए। त्यसपछि भने श्रीलंकाले लगातार विकेट गुमाइरह्यो। कप्तान दिमुथ शतक बनाउनबाट ३ रनले चुके। श्रीलंकालाई लागि सर्वाधिक रन बनाएका उनले १०८ बल खेल्दै ९ चौकाको मद्दतमा ९७ रन बनाए। लहिरु थिरिमानेले १६ र कुशल मेन्डिसले ३० रन जोडे। धनन्जय शिल्भा १६ रनमा नटबउट रहे। बाँकी ६ खेलाडीले दोहोरो अंक छुन सकेनन्।
१८६ मा ३ विकेट गुमाएको श्रीलंकाले थप ६१ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो।
श्रीलंकालाई अलआउट गर्न अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए। मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए। यस्तै केन रिचर्डसनले ३, प्याट कमिङले २ तथा ज्यासन बेरोहनडर्फले १ विकेट लिए।
ग्लेन म्याक्सवेलले विकेट लिन नसकेपनि किफयाती बलिङ गर्दै १० ओभरमा ४६ रन खर्चे। तर उत्कृष्ट फिल्डिङ गरेका उनले श्रीलंकालाई करुणारत्नेलाई आउट गर्न उत्कृष्ट क्याच लिएका थिए।
त्यसअघि आरोन फिन्च यस विश्वकपमा शतक प्रहार गर्ने पहिलो कप्तान बन्दा अष्ट्रेलियाले लगातार दोस्रो पटक ३३० भन्दा बढि रन बनाएको थियो। डेविड वार्नर २६ र उस्मान खवाजलाई १० रनमा गुमाएपनि फिन्चले पूर्व कप्तान स्टिभ स्मिथसँग मिलेर तेस्रो विकेटका लागि १७३ रनको साझेदारी गरेका थिए। फिन्चले १३२ बल खेल्दै १५ चौका र ५ छक्काको मद्दतमा १५३ रन बनाए।
५९ बल खेलेका स्मिथले ७ चौका र १ छक्काको मद्दतमा ७३ रन जोडे। यस्तै अलराउण्डर ग्लेन म्याक्सवेलले २५ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा नटआउट ४६ रन बनाए।
श्रीलंकाका इरुस उदाना र धनन्जय दा शिल्भाले २-२ विकेट लिए। उदानाले ४९औं ओभरमा एलेक्स क्यारी र प्याट कमिङलाई आफ्नै बलमा रनआउट समेत गरेका थिए।
अफ्रिकालाई पहिलाे सफलता
इमरान ताहिर र क्रिस मोरिसको उत्कृष्ट बलिङ अनी क्वेन्टन डे ककको अर्धशतक मद्दतामा आइसीसी विश्वकप क्रिकेट २०१९ मा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ। गएराती भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई डिएल मेथडमा ९ विकेटले पराजित गरेको हो। अफगानिस्तानको भने यो लगातार चौथो हार हो।
५ खेलपछि पहिलो जित हात पारेको दक्षिण अफ्रिका ३ अंक जोड्दै सातौँ स्थानमा उक्लेको छ।
वर्षाले बारम्बार प्रभावित खेलमा अफगानिस्तानले दिएको १२७ रनको सामान्य लक्ष्य २८.४ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो। ओपनर क्वेन्टन डे ककले सर्वाधिक ६८ रन बनाएको खेलमा हासिम अमलाले नटआउट ४१ रन जोडे।
त्यसअघि कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्ताने ३४.१ ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो। वर्षाले प्रभावित भएपछि खेल ४८औभरमा घटाइएको थियोर दक्षिण अफ्रिकाले १२७ रनको लक्ष्य पाएको थियो।
अफगानिस्तानको लागि रसिद खानले सर्वाधिक ३५, ओपनर नुर अली जद्रानले ३२ तथा हज्रतुल्ला जजाईले २२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन।
अफगानिस्तानलाई अलआउट गर्न दक्षिण अफ्रिकाका इमरान ताहिरले ७ ओभरमा २९ रन खर्चँदै ४ विकेट लिए। यस्तै क्रिस मोरिसले ६.१ ओभरमा २ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए।