अष्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ। बुधबार भएको खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले तेस्रो जित निकालेको हो।
काउन्टी ग्राउण्डमा अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५ ओभर ४ बलमा अलआउट हुँदै २६६ रनमा समेटियो। पाकिस्तानका लागि इमाम उल हकले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै मोहमद हाफिजले ४६, वाहब रियाजले ४५ तथा कप्तान सर्फराज अहमेदले ४० रन बनाए।
हसन अलीले ३२ रन जोड्दा बाबर आजमले ३० रन बनाए। अष्ट्रेलियाका पाट कुमिन्सले ३ विकेट लिए । यस्तै केन रिचार्डसन र मिचेल स्टार्कले २-२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३०७ रन बनाएको थियो।
अष्ट्रेलियाको लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेले। एक बर्षे प्रतिबन्धबाट फर्किएका वार्नरले ११ चौका र १ छक्काको मद्दतले १ सय ७ रन बनाए।
पहिलो विकेटका लागि वार्नरले कप्तान आरोन फिन्चसंग १४६ रनको साझेदारी गरे। फिन्चले ८२ रनको अर्धशतकिय इनिङ्स खेले। पाकिस्तानका मोहमद आमिरले ५ विकेट हात पारे। यस्तै शाहिन शाह अफ्रिदीले २ तथा हसन अलि,वहाव रियाज र मोहमद हफिजले समान १-१ विकेट हात पारे।
यो जितसंगै अष्ट्रेलियाले एकदिवसीयमा पाकिस्तानविरुद्धको जित कायम राखेको छ। पाकिस्तानमाथि अष्ट्रेलियाको यो छैटौं जित हो। पाकिस्तानविरुद्ध अष्ट्रेलियाले विश्वकप अघि युएईमा भएको पाँच खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको थियो।
जितसंगै अष्ट्रेलियाले ४ खेलबाट ६ अंक जोडेको छ। र अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाकिस्तानको यो दोस्रो हार हो। आठौं स्थानको पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ।