राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा चौथो प्रधानमन्त्री कप महिला टी– २० क्रिकेट प्रतियोगिता असार ४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेश र एपीएफ क्लब गरी ८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा एपीएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा प्रदेश १, प्रदेश ३, प्रदेश २ र कर्णाली प्रदेश रहेका छन् ।
महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा महेन्द्रनगरमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउने छन् । ‘वोमन अफ द सिरिज’ ले ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्स वोमनले समान १५–१५ हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘वोमन अफ द म्याच’ लाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८८ लाख रुपैयाँ खर्च हुनेछ । त्यसमा राखेपले ३५ लाख उपलब्ध गराउने छ भने नपुग रकम महाकाली स्पोर्ट्स सोसाइटीले जुटाउने छ ।