त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै आर्मीले उपाधि आफ्नो बनायो । आर्मीले पहिलो सेट गण्डकीलाई १६–२५ ले सुम्पिएको थियो ।
तर, आर्मीले त्यसपछिको तीन सेट लगातार जित्दै उपाधि आफ्नो बनायो । आर्मीले दोस्रो सेट २५–८, तेस्रो सेट २५–१० र चौंथो सेट २५–१६ ले जितेको थियो ।
योसंगै आर्मीले लगातार चौंथो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । आर्मीले पहिलो संकरणदेखि लगातार चौंथो संस्करणको उपाधि घरमै राख्न सफल भयो ।
उपाधिसंगै आर्मीले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको गण्डकीले १ लाख ५० हजार प्राप्त गर्यो । प्रतियोगितामा नेपाल पुलिसले तेस्रो स्थान हासिल गर्यो । तेस्रो भएसंगै पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । नेपाली सेनाको आयोजनामा भएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेशको टिमले सहभागिता जनाएका थिए ।