इंग्ल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दोस्रो जित हात पारेको छ। घरेलु भूमिमै भइरहेको १२औं संस्करणको तेस्रो खेलमा इंग्ल्याण्डले बंगलादेशलाई १०६ रनले पराजित गरेको हो।
यो जितपछि इंग्ल्याण्डले सन् २०११ र २०१५ मा बंगलादेशसँग बेहोरेको हारको बदला समेत लिएको छ। ३ खेल खेल्दै २ खेल जितेको इंग्ल्याण्ड ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ। दुई खेल खेल्दै दुवै खेल जितेको न्यूजिल्याण्ड र अष्ट्रेलियाको पनि समान ४ अंक छ। तर राम्रो रनरेटका कारण न्यूजिल्याण्ड पहिलो स्थानमा छ। अष्ट्रेलिया तेस्रोमा झरेको छ।
कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले रोएको शानदार शतक मद्दतमा ५० ओर खेल्दै ६ विकेट गुमाएर ३८६ रन बनाएको थियो। रोएले १२१ बल खेल्दै १४ चौका र ५ छक्काको मद्दतमा १५३ रन बनाए। विकेटकिपर जोस बटलरले ६४ र जोनी बेयर्टोवले ५१ रन जोडे। कप्तान इयान मोर्गनले ३५ रन बनाउदा लियम प्लनकटले नटआउट ३५ र क्रिस वोक्सले नटआउट १८ रन बनाए। बंगलादेशका मोहमद सैफुदिन र मेहदी हसन मिराजले २-२ विकेट लिए।
३८५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा २८० रनमै अलआउट भयो। बंगलादेशका लागि शकिब अल हशनले शतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ नदिँदा फराकिलो हार बेहोर्न बाध्य भयो। शकिबले ११९ बल खेल्दै १२ चौका र १ छक्काको मद्दतमा १२१ रन बनाए। यस बाहेक विकेटकिपर मुस्फिकर रहिमले ४४, महमुदुल्लाहले २८ र मोसादेक होसेनले २६ रन बनाए।
बंगलादेशलाई अलआउट गर्न इंग्ल्याण्डका बेन स्टोक र जोफ्रा आर्चरले ३-३ विकेट लिए। बर्चरले ८.५ ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ३ विकेट लिएका हुन्। स्टोकले ६ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर ३ विकेट लिए। यस्तै मार्क उडले २ विकेट लिए।