विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि हासिल गर्न सफल भयो । उपाधिसहित पुलिसले रु २० लाख प्राप्त गरेको छ । यसअघि दुई विभागीय टोली पुलिस र आर्मी उक्त प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थिए ।
वर्षाका कारण फाइनल खेल रद्द भएपछि दुवैले ट्रफी बाडेका थिए । त्यस्तै दोस्रो संस्करणको उक्त प्रतियोगितामा पुलिस सेमिफाइनलमा पराजित भएको थियो भने आर्मी फाइनलमा अर्कोे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग पराजित भएको थियो । प्रतियोगिताको तीनै संस्करणसम्मको खेलमा फाइनल पुगेको आर्मी उपाधिविहीन बन्यो । हारसँगै उपविजेतामा चित्त बुझाएको आर्मीले रु दश लाख पायो ।
टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले पुलिसलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो । सो विजय लक्ष्य बोकेर मैदानमा उत्रेको पुलिसले ४०.३ ओभरमा छ विकेट गुमाएर भेटायो ।