नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटुवाल नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटुवाललाई नियुक्त गरेको हो ।
उनी १ वर्षअघि राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका थिए । ४६ वर्षीय पटवालसँग १ वर्षका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षकका लागि सम्झौताको तयारी भएको छ । उनले जुन १० देखि आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । स्रोतका अनुसार पटवालले मासिक ७ हजार डलर अर्थात नेपाली ७ लाख रुपैयाँ बढी पारिश्रमिक पाउनेछन् । यो रकम भने आईसीसीले उपलब्ध गराउनेछ ।
नेपाली क्रिकेटलाई नजिकबाट नियालेका पटवालले पहिलो पोखरा प्रिमियर लिग (पीपीएल) मा प्रतियोगिताको निर्देशकका रुपमा काम गरेका थिए । यस्तै एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा उनी टिम विराटनगर वारियर्सको प्रशिक्षकका रुपमा थिए ।
सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।