आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा घरेलु टाेली इंग्ल्याण्डले विजयी शुरुआत गरेकाे छ। गएराति भएकाे उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनकाे फराकिले अन्तरले पराजित गरेकाे हाे।
ओभल मैदानमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीका ३९ ओभर ५ बलमा अलआउट हुँदै २०७ रनमा समेटियो।
दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। उसका डी ककले ६८ रन जोड्दा डुसेनले ५० रनको योगदान गरे।
यस्तै एडिले लक्कीले २४ तथा हसिम अमलाले १३ रन जोडे। अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन्। इंग्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट लिए। लियाम पुल्न्केट र बेन स्टोक्सले २-२ विकेट हात पारे। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउंदै ३ सय ११ रन बनाएको थियो।
इंग्ल्याण्डको उच्च स्कोरमा ४ खेलाडीले अर्धशतक बनाए। ओपनर जोन्नी बेस्ट्रो खेलको दोस्रो बलमा गोल्डेन डक आउट भएपनी जासन रोय र जोय रुटले अर्धशतकीय इनिङ्स खेल्दै इंग्ल्याण्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
दोस्रो विकेटको रुपमा आउट भएका रोयले ५४ रनको इनिङ्स खेल्दा रुटले ५१ रन बनाए। यस्तै अलराउण्डर बेन स्टोक्सले ९ चौका प्रहार गर्दै ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान इयान मोर्गनले ३ छक्का र ४ चौकाको मद्दतले ५७ रन बनाए।
त्यस्तै जोस बट्लर १८, क्रिस वोक्स १३, मोइन अली ३, लाइम प्लङकेटले ९ रन बनाउँदा जोफ्रा आर्चरले ७ रनको योगदान गरे। दक्षिण अफ्रीकाका लुंगी नेग्दीले ३ विकेट हात पारे। यस्तै इमरान ताहिर र कागीसो राबाडाले समान २-२ विकेट हात पारे। इंग्ल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका बेन स्टोक्स प्लेयर अफ दि म्याच बने। जितसंगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ।